काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आर्थिक अवस्था र व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा निगमको वर्तमान अवस्था र सुधारका विषयमा भएको छलफलमा सहभागी हुँदै मन्त्री पौडेलले संस्थाको कार्यशैलीमा तत्काल सुधार आवश्यक रहेको बताएका हुन्।उनले निगमको कमजोर कार्यसम्पादनप्रति टिप्पणी गर्दै निजी कम्पनी भएको भए अहिलेको अवस्थामा निगम खारेजीको प्रक्रियामा पुगिसक्ने अवस्था आउने बताए।मन्त्री पौडेलका अनुसार निगमको समस्या समाधानका लागि जहाज थप्नु मात्र पर्याप्त हुँदैन। नयाँ जहाज खरिद वा थप गर्दैमा संस्था नाफामा जाने सुनिश्चितता नहुने भन्दै उनले व्यवस्थापन प्रणाली सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
निगमका जहाजमा पछिल्लो समय देखिएका प्राविधिक समस्या र त्यसका कारण भइरहेको आर्थिक क्षतिलाई पनि उनले व्यवस्थापनसँग जोडेर हेरेका छन्।केही समयअघि टोकियो र युरोपमा निगमका दुई जहाज लामो समय ग्राउन्डेड भएको घटनाको उदाहरण दिँदै मन्त्री पौडेलले त्यसको आर्थिक भार निगममाथि परेको बताए। जहाज सञ्चालनमा नआउँदा पूर्वनिर्धारित उडानका टिकट बिक्री गरिसकेका यात्रुको व्यवस्थापन तथा वैकल्पिक उडानको व्यवस्था गर्न निगमले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ।बैठकमा मन्त्री पौडेलले निगमप्रति बैंक तथा वित्तीय संस्थाले अपनाउँदै आएको ऋण तथा ब्याज नीतिमाथि पनि प्रश्न उठाए।
आर्थिक संकटमा रहेको सरकारी स्वामित्वको संस्थालाई सहजीकरण गर्नुको सट्टा बैंकले थप आर्थिक भार बढाइरहेको उनको आरोप थियो। उनका अनुसार अन्य व्यक्ति तथा व्यवसायलाई तुलनात्मक रूपमा कम ब्याजदरमा ऋण उपलब्ध गराउने बैंकहरूले नेपाल वायुसेवा निगमलाई भने करिब साढे १० प्रतिशतसम्म ब्याजदर लगाउने गरेका छन्।राष्ट्रिय ध्वजावाहकलाई वित्तीय रूपमा सहज वातावरण सिर्जना गर्नुपर्ने समयमा उच्च ब्याजदरले निगममाथि थप दबाब सिर्जना गरेको भन्दै उनले बैंकिङ क्षेत्रको यस्तो व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे।मन्त्री पौडेलले निगम सुधारका लागि जहाज संख्या बढाउनेभन्दा पहिले व्यवस्थापन, सञ्चालन प्रणाली, वित्तीय अनुशासन र संस्थागत कार्यक्षमता सुधार गर्नुपर्ने धारणा राखेका छन्।