काठमाडौं ।तराई–मधेस क्षेत्रमा बसोबास गर्ने समुदायका आफ्नै मौलिक चाडपर्व, संस्कार र परम्परा छन्।
तीमध्ये जितिया पर्व धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्व बोकेको पर्वका रूपमा मनाइन्छ। विशेषगरी महिलाले सन्तानको दीर्घायु, स्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै यो कठिन व्रत बस्ने परम्परा छ। थारू समुदायमा पनि जितियालाई महत्त्वका साथ मनाउने गरिन्छ।यस वर्ष पनि तराई–मधेसका महिलाले जितिया व्रतको तयारी सुरु गरेका छन्। व्रतको प्रारम्भिक चरणमा नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी पूजा तथा धार्मिक विधि पूरा गर्ने चलन छ। त्यसपछि निर्धारित तिथिमा महिलाले निराहार तथा निर्जल व्रत बस्ने गर्छन्।
जिमुतवाहनसँग जोडिएको धार्मिक कथा
जितिया व्रतसँग जिमुतवाहनको कथा जोडिएको पाइन्छ। धार्मिक मान्यताअनुसार जिमुतवाहनको आराधना र व्रतको प्रभावले सन्तानको रक्षा हुने विश्वास छ।कथाअनुसार एउटा रूखमा चिल र स्यालको मित्रता थियो। जितिया व्रतको कथा सुनेपछि दुवैले पनि व्रत बस्ने निर्णय गरे। तर व्रतका क्रममा स्यालले आफ्नो संयम कायम राख्न सकेन र मृत व्यक्तिको मासु खायो। चिलले भने व्रतको नियम उल्लङ्घन गरेन।पछि दुवैको मृत्यु भयो र अर्को जन्ममा उनीहरू दुई दिदीबहिनीका रूपमा जन्मिएको धार्मिक कथन छ। जेठी बहिनीका सन्तान जीवित र कान्छीका सन्तान जन्मिएर पनि मर्दै जाने कथामार्फत जितिया व्रतमा नियम र संयमको महत्त्व देखाइएको छ।
कथामा दिदीबहिनीबीचको घटनापछि व्रतको प्रभावले जेठीका सन्तान सुरक्षित भएको उल्लेख छ। त्यसैले व्रत सुरु गरेपछि नियम नतोड्नुपर्ने धार्मिक विश्वास जितियासँग जोडिएको छ।स्थानीय महिलाहरूका अनुसार शनिबार, आइतबार वा मंगलबारजस्ता ‘खर दिन’ मा पहिलोपटक जितिया व्रत सुरु गर्ने परम्परा पनि केही समुदायमा रहेको छ। यस्तो व्रतलाई ‘खर जितिया’ भन्ने गरिन्छ।
यसरी गरिन्छ जितिया व्रत
व्रतको अघिल्लो दिन महिलाले घर तथा आँगन सफा गरेर पूजाको तयारी गर्छन्। त्यसपछि पिना, तेल, घिरौलाको पात, जियल तथा बाँसका पात र नयाँ कपडासहित सामूहिक रूपमा नदी, पोखरी वा जलाशयमा जाने चलन छ।स्नान गरेपछि नयाँ कपडा लगाएर पितृ तथा जिमुतवाहनको पूजा गरिन्छ। व्रतको दिन नदी वा पोखरीमा स्नान गरी सूर्यलाई तेल र पिनाबाट अर्घ दिँदै व्रतको सङ्कल्प लिने परम्परा छ। दिवंगत हजुरआमा, सासूआमा लगायतका महिला पितृलाई सम्झेर तर्पण दिने चलनसमेत रहेको बताइन्छ।
व्रत सुरु हुनुअघि महिलाले विभिन्न परिकार खाने गर्छन्। दही, मिठाइ, माछा, कोदोको रोटीलगायतका खानेकुरा खाने परम्परा कतिपय समुदायमा छ। बिहानै घिरौलाको पातमा दही, चिउरा, चिनी, केरा, मिठाइ, पान तथा सुपारी राखेर पितृ र जिमुतवाहनलाई चढाउने गरिन्छ।व्रतका क्रममा महिलाले छोराको सङ्ख्याअनुसार नरिवल तथा अन्य पूजाका सामग्री राखेर ‘डाली’ तयार गर्छन्। उक्त डाली मानको पातले ढाकिन्छ। व्रत समाप्त भएपछि घरका छोरा वा नातिले डाली खोल्ने र प्रसाद निकालेर पूजा गरेपछि परिवार तथा आफन्तलाई बाँड्ने चलन छ। त्यसपछि मात्रै व्रतालुले पानी तथा अन्य खाना खाने गर्छन्।
कठोर व्रतका कारण स्वास्थ्य चुनौती
जितिया व्रत लामो समयसम्म पानीसमेत नखाई बस्नुपर्ने भएकाले स्वास्थ्यसँग जोडिएका चुनौती पनि देखिन्छन्। विशेषगरी गर्भवती तथा स्वास्थ्य समस्या भएका महिलाका लागि यस्तो व्रत कठिन हुन सक्ने बताइन्छ।कतिपय महिलामा व्रत नबस्दा सन्तानलाई नराम्रो असर पर्न सक्छ भन्ने धार्मिक तथा सामाजिक विश्वास रहने भएकाले स्वास्थ्य समस्या हुँदाहुँदै पनि व्रतलाई निरन्तरता दिने अवस्था देखिन्छ। कतिपय अवस्थामा स्वास्थ्य बिग्रिँदा समेत व्रत नतोड्ने र उपचारका क्रममा स्लाइन चढाएर व्रत जारी राख्ने गरेको उदाहरणसमेत पाइन्छ।जितिया परम्परामा लैङ्गिक विभेदको प्रश्न पनि उठ्ने गरेको छ। विशेषगरी डाली खोल्ने काम छोरा, नाति वा पुरुष आफन्तले गर्ने र छोरी वा नातिनीलाई त्यस्तो जिम्मेवारी नदिने चलन कतिपय परिवारमा अझै कायम रहेको पाइन्छ। सन्तानको दीर्घायुका लागि गरिने व्रतमै छोरा र छोरीबीच फरक व्यवहार हुनु परम्पराको आलोचनाको विषय बनेको छ।
सामाजिक सम्बन्ध बलियो बनाउने अवसर
जितिया व्रतको अर्को पक्ष सामाजिक एकता र सामूहिकता पनि हो। महिलाहरू आफन्त, साथीभाइ तथा छिमेकीसँग मिलेर दर खाने, भेटघाट गर्ने र शुभकामना आदानप्रदान गर्ने गर्छन्।लामो समयदेखि भेट हुन नसकेका आफन्त तथा साथीहरू एकै ठाउँमा भेला हुने भएकाले यसले सामाजिक सम्बन्धलाई थप नजिक बनाउने गरेको छ। सामूहिक रूपमा जितियाका गीत गाउने, कथा सुनाउने तथा महिलामा रहेको कला र प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत सिर्जना हुने गरेको छ।
प्रकृति र पितृ सम्मानसँग जोडिएको पर्व
जितिया व्रतमा जियल, बाँस तथा घिरौलाका पातजस्ता प्राकृतिक सामग्री प्रयोग गरिने भएकाले यसले प्रकृति संरक्षणको सन्देशसमेत दिने गरेको मानिन्छ।यसैगरी सोह्रश्राद्धको समयमा पर्ने भएकाले पितृप्रतिको सम्मान पनि जितिया संस्कारको महत्त्वपूर्ण पक्ष हो। महिलाले पितृलाई पानी चढाउने, प्रसाद अर्पण गर्ने तथा स्मरण गर्ने परम्पराले परिवार र समाजमा महिलाको पितृसम्बन्धी धार्मिक भूमिकालाई समेत देखाउँछ।यसरी हेर्दा जितिया केवल सन्तानको दीर्घायुको कामना गर्दै गरिने व्रत मात्र नभई तराई–मधेसको मौलिक संस्कृति, महिला सहभागिता, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको परम्पराका रूपमा विकसित हुँदै आएको देखिन्छ।