काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो खेलकुद सामग्री उत्पादन गर्ने कम्पनीमध्ये एक नाइकी पछिल्ला केही वर्षयता कठिन अवस्थाबाट गुज्रिरहेको छ।
बिक्री घट्नु, ग्राहकको आकर्षण कमजोर हुनु र प्रतिस्पर्धी कम्पनीहरू अघि बढ्नुका कारण नाइकीले आफ्नो बजार प्रभाव कायम राख्न चुनौती सामना गरिरहेको छ। कुनै समय खेलकुद सामग्रीको क्षेत्रमा नयाँपन र सिर्जनशीलताको पर्याय बनेको नाइकी अहिले आफ्नो व्यवसायलाई पुनः गतिमा ल्याउने प्रयासमा छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत इलियट हिलको नेतृत्वमा सुधारको योजना अघि बढाइए पनि त्यसको परिणाम तत्काल देखिन नसकेको समाचारमा उल्लेख छ।
नाइकीलाई पछिल्लो समय अर्को ठूलो झट्का चर्चित फुटबल खेलाडी किलियन एमबाप्पेको बहिर्गमनबाट लागेको छ। नाइकीसँग करिब २० वर्षदेखि जोडिएका एमबाप्पेले गत साता नाइकीसँगको सम्बन्ध अन्त्य गर्दै स्विट्जरल्यान्डको प्रतिस्पर्धी खेलकुद सामग्री कम्पनी ‘अन’सँग आबद्ध भएका छन्। एमबाप्पे नौ वर्षको उमेरदेखि नाइकीसँग जोडिएका थिए। उनीजस्ता विश्वप्रसिद्ध खेलाडीको बहिर्गमनले नाइकीको प्रभावशाली खेलाडी समूह र युवा पुस्तामाझको आकर्षणबारे प्रश्न उठेको छ। यद्यपि नाइकी अझै विश्वभर परिचित र लोकप्रिय ब्रान्डका रूपमा रहेको छ। तर पछिल्ला केही वर्षमा भएका रणनीतिक निर्णयका कारण कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको छ। पछिल्लो पाँच वर्षमा नाइकीको सेयर मूल्य करिब ७५ प्रतिशतले घटेको समाचारमा उल्लेख छ।
बिक्री रणनीतिमा परिवर्तन
खेलकुद सामग्रीको खुद्रा बजारका अनुभवी विश्लेषक म्याट पावेलका अनुसार नाइकीले पछिल्ला वर्षमा केही रणनीतिक कमजोरी गरेको छ। उनका अनुसार नाइकीले परम्परागत खुद्रा पसलहरूसँगको सम्बन्ध घटाउँदै आफ्नै माध्यमबाट ग्राहकलाई प्रत्यक्ष बिक्री गर्ने नीतिमा बढी जोड दिएको थियो। सीमित संख्यामा मात्र उपलब्ध गराइने विशेष उत्पादनलाई पनि ठूलो मात्रामा बजारमा ल्याउँदा ग्राहकको आकर्षण कम भएको उनको भनाइ छ। नाइकीले नयाँ उत्पादनको विकास र अनुसन्धानमा भन्दा डिजिटल कारोबार विस्तारमा बढी लगानी गर्दा उत्पादनमा नयाँपन ल्याउने क्षमता कमजोर भएको विश्लेषकहरूको धारणा छ।
नाइकीका पूर्व प्रमुख कार्यकारी जोन डोनाहोको नेतृत्वमा प्रत्यक्ष ग्राहकलाई अनलाइन बिक्री गर्ने रणनीति तीव्र पारिएको थियो। कोरोना महामारीका बेला अनलाइन किनमेल बढेपछि सुरुमा कम्पनीको बिक्री बढे पनि त्यसपछि जीवनयापनको खर्च बढ्दा उपभोक्ताको खर्च गर्ने क्षमता घट्यो। विशेषगरी चीनजस्ता महत्वपूर्ण बजारमा माग कमजोर भएपछि नाइकीले खर्च कटौती र कर्मचारी संख्या घटाउने निर्णयसमेत गरेको थियो।यसैबीच ‘अन’ र ‘होका’ जस्ता नयाँ खेलकुद सामग्री कम्पनीहरूले बजारमा आफ्नो प्रभाव विस्तार गरे। केही पसलमा पहिले नाइकीका उत्पादनले ओगटेको स्थानसमेत यी कम्पनीका उत्पादनले लिन थाले।
माइकल जोर्डनसँगको सम्झौतादेखि नाइकीको विश्वव्यापी विस्तार
नाइकीको सफलताको इतिहासमा विश्वप्रसिद्ध खेलाडीहरूसँगको साझेदारी महत्वपूर्ण मानिन्छ। सन् १९८० को दशकको मध्यतिर युवा बास्केटबल खेलाडी माइकल जोर्डनसँग गरेको सम्झौता कम्पनीका लागि महत्वपूर्ण मोड बनेको थियो। त्यतिबेला जोर्डन व्यावसायिक बास्केटबलमा नयाँ खेलाडी थिए। नाइकीले उनलाई केन्द्रमा राखेर विशेष जुत्ता उत्पादन गर्यो, जसबाट ‘एयर जोर्डन’ नामक छुट्टै उत्पादन श्रृंखला स्थापित भयो। त्यसपछि नाइकीले गल्फ खेलाडी टाइगर वुड्स, टेनिस खेलाडी सेरेना विलियम्स तथा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोजस्ता चर्चित खेलाडीहरूसँग सहकार्य गर्यो। उनीहरूको लोकप्रियतासँगै नाइकीको चिनारी पनि विश्वभर फैलियो।
तर पछिल्लो समय नाइकीसँग जोडिएका केही चर्चित खेलाडीले अन्य कम्पनी रोजेका छन्। एमबाप्पेसँगै विश्वकप विजेता फुटबल खेलाडी लामिन यामालले पनि नाइकी छाडेर एडिडाससँग आबद्ध भएका छन्। यामालले नयाँ कम्पनीसँग आबद्ध हुँदा आफूले छुट्टै पहिचान बनाउन पाउने अवसर देखेको संकेत गरेका छन्। एमबाप्पेले पनि आफूजस्तै नयाँ सोच र सिर्जनशीलतामा विश्वास गर्ने समूहसँग काम गर्न पाउने भन्दै नयाँ कम्पनी रोजेको बताएका छन्।
सुधारको प्रयासमा नाइकी
पछिल्ला चुनौतीका बाबजुद नाइकीको विश्वव्यापी बजार प्रभाव अझै ठूलो रहेको विश्लेषकहरूको भनाइ छ। विश्वभर ठूलो संख्यामा ग्राहक नाइकीका उत्पादनसँग जोडिएका छन्। तर उत्पादनमा नयाँपन ल्याउने क्षमता कमजोर भएपछि कम्पनीलाई पुनः पुरानै गतिमा फर्काउन समय लाग्ने विश्लेषकहरूको धारणा छ। नाइकीका प्रमुख कार्यकारी अधिकृत इलियट हिलले पनि कम्पनीले खेलकुद सामग्री, जोर्डन उत्पादन श्रृंखला र चीनको बजारमा अझै सुधार गर्नुपर्ने बताएका छन्।
कम्पनीको पछिल्लो त्रैमासिक आम्दानी करिब ११ अर्ब अमेरिकी डलर रहेको थियो। यो विश्लेषकहरूले गरेको अनुमानभन्दा कम हो। चीनमा कम्पनीको आम्दानी २६ प्रतिशतले घटेको नाइकीले जनाएको छ। त्यस्तै, जोर्डन उत्पादन श्रृंखलाको विश्वव्यापी बिक्री पनि घटेको छ। कम्पनीले चर्चित पुराना शैलीका जुत्ताको अत्यधिक उत्पादन भइरहेको स्वीकार गर्दै अब उत्पादनको मात्रा र बजारमा ल्याउने अन्तराल घटाउने योजना बनाएको छ। नाइकीले आगामी आर्थिक वर्षमा आम्दानी उच्च एकल अंकको प्रतिशतले घट्न सक्ने अनुमान गरेको छ। सन् २०३१ सम्म करिब २ अर्ब ५० करोड अमेरिकी डलर बराबरको खर्च बचत गर्ने योजना पनि कम्पनीले अघि सारेको छ। यस क्रममा केही रोजगारी कटौती हुनसक्ने बताइएको छ।
कम्पनीका प्रमुख वित्तीय अधिकारी डेभ डेन्टनले पछिल्लो वित्तीय परिणाम कम्पनीको अपेक्षा र क्षमताभन्दा कमजोर रहेको स्वीकार गर्दै सुधारका लागि काम भइरहेको बताएका छन्। वित्तीय परिणाम सार्वजनिक भएपछि अमेरिकी सेयर बजारमा कारोबार सकिएपछिको समयमा नाइकीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको थियो। युवा पुस्तालाई लक्षित गर्दै नाइकीले आफ्नो चर्चित ‘जस्ट डु इट’ अभ