काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा आंशिक रूपमा बादल लागेको छ। बागमती प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै देशका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। देशका तराई भूभागमा आंशिक बदली रहने र बिहानीपख केही स्थानमा हुस्सु लाग्नसक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।