काठमाडौँ ।हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्सम्बन्धी विषय अध्ययन गर्न गठित संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ।
बिहीबार बसेको समितिको बैठकले कार्यविधि पारित गरेको समितिकी सदस्य एवं सांसद अनुष्का श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार कार्यविधि पारित भएसँगै समितिले आगामी दिनमा गर्नुपर्ने कामको दायरा थप स्पष्ट भएको छ। श्रेष्ठले सरकारी निकायले यसअघि गरिसकेका काम तथा उपलब्ध स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै सम्बन्धित निकायबीच समन्वय गरेर अघि बढ्नुपर्ने बताइन्। आवश्यक विषयमा भने स्वतन्त्र अध्ययन, अनुसन्धान र छलफललाई समेत प्राथमिकता दिने उनले उल्लेख गरिन्।
समितिले हिमाली समुदायमा जलवायु परिवर्तनको प्रभावदेखि जलवायुजन्य जोखिममा रहेका नदी किनारका बस्तीको अवस्थासम्मलाई अध्ययनको दायरामा समेट्ने जनाएको छ। प्रतिनिधिसभामा १५ सदस्यीय उक्त विशेष समितिको सभापतिमा गणेश पराजुली बिहीबार निर्विरोध निर्वाचित भएका थिए। सभामुख डोलप्रसाद अर्यालले नवनिर्वाचित सभापति पराजुलीलाई सोही दिन पद तथा गोपनीयताको शपथ गराएका थिए। प्रतिनिधिसभाको असोज ५ गतेको बैठकले उक्त समिति गठन गरेको थियो।
समितिमा सभापति पराजुलीसहित अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन्। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण र आगामी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्नु समितिको मुख्य उद्देश्य रहेको छ। त्यसैगरी आवश्यक कानुनी तथा संस्थागत सुधारका लागि सुझाव दिने र जलवायु न्याय सुनिश्चित गर्न राज्यले अपनाउनुपर्ने नीतिगत कार्यदिशाबारे सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।