काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै किसिमको अन्तरविरोध नरहेको दाबी गरेका छन्।
बिहीबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले रास्वपाका नेता तथा कार्यकर्ताबीच एकता कायम रहेको बताए। सत्तापक्षमा रहे पनि संसद्मा जनताका समस्या, आवश्यकता र आवाज उठाउनु आफूहरूको प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ। जनप्रतिनिधिले सरकारमा रहेकै कारण जनताका मुद्दा उठाउन छाड्न नहुने उनले बताए। सिंहले वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा र भरोसा रहेको उल्लेख गर्दै सरकारलाई असफल हुने छुट नरहेको बताए। उनले वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर रहने र आफ्नो कार्यकालमा सफल हुने दाबीसमेत गरे। देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सरकारलाई आवश्यक सहयोग गर्दै आगामी पाँच वर्ष काम गर्ने उनले बताए।