काठमाडौं । प्रतिनिधिसभा सदस्य बसना थापाले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र अवरुद्ध सडक सञ्चालनका लागि सरकार तत्काल प्रभावित क्षेत्रमा पुग्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले भारी वर्षाका कारण विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताइन्। उनले भनिन्, “जहाँ नागरिक पहिरोमा फसेका छन्, त्यहाँ सरकार पुग्नुपर्छ। जहाँ नागरिक बेपत्ता भएका छन्, त्यहाँ सरकारको खोजी टोली पुग्नुपर्छ।”
थापाले बेपत्ता ११ जना नागरिकको खोजी तथा उद्धारका लागि परिचालित जनशक्ति, आवश्यक उपकरण र आगामी कार्ययोजनाबारे सरकारले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने माग गरिन्। बाढीपहिरोका कारण अवरुद्ध राष्ट्रिय राजमार्ग तथा अन्य सडक तत्काल सञ्चालनमा ल्याउन पर्याप्त जनशक्ति र उपकरण परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिइन्। चाडपर्वको समयमा सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको भन्दै थापाले प्रभावितको सुरक्षित उद्धार, वैकल्पिक यातायात तथा आवश्यक राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्। विपद्को समयमा सरकार सिंहदरबारमा सीमित नभई प्रभावित नागरिकको बीचमा देखिनुपर्ने बताउँदै थापाले “घोषणा होइन, परिणाम देखाऔँ; आश्वासन होइन, उद्धार गरौँ; कागजमा होइन, मैदानमा सरकार देखाऔँ” भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिन्।