काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक आगामी असोज २२ गते बस्ने भएको छ।
विश्वविद्यालयको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्ने उद्देश्यले बैठक बोलाइएको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले जानकारी दिएका छन्।विश्वविद्यालयको सभा बैठक यसअघि नै बस्नुपर्ने भए पनि लामो समयसम्म हुन सकेको थिएन। निर्धारित समयमा बैठक नहुँदा सभाबाट अनुमोदन गर्नुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेटको प्रक्रिया अघि बढ्न नसकेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीले बताएका छन्।
त्रिविको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० अनुसार सभा बैठकको मिति आउनुभन्दा कम्तीमा १५ दिनअघि सदस्यहरूलाई बैठकको सूचना, कार्यसूची र प्रस्ताव उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर असोज २२ गते बैठक बस्ने भनिए पनि हालसम्म सदस्यहरूलाई औपचारिक रूपमा जानकारी नगराइएको जोशीको दाबी छ।उनले विश्वविद्यालयको ग्रेस लिस्ट हजारौँ विद्यार्थीको लामो शैक्षिक यात्रा र मेहनतसँग जोडिएको महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गरेका छन्। विद्यार्थीले प्राप्त गरेको उपाधिलाई औपचारिक मान्यता दिने प्रक्रियादेखि विश्वविद्यालयको नीति तथा कार्यक्रम र बजेटसम्मका विषयलाई नियमित विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्ने उनको भनाइ छ।जोशीले विश्वविद्यालयका महत्वपूर्ण प्राज्ञिक तथा प्रशासनिक निर्णयहरू निर्धारित प्रक्रिया पालना नगरी अघि बढाउँदा संस्थाको प्राज्ञिक मर्यादा र विश्वसनीयतामा असर पर्न सक्ने बताएका छन्।