काठमाडाैँ । ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पूर्वाञ्चल चालक सङ्घले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको छ।
बिहीबार भएको प्रदर्शनमा विभिन्न सवारीसाधनका चालकहरूको सहभागिता रहेको थियो। महेन्द्र चोकमा कोणसभा गर्दै चालकहरूले ट्राफिक प्रहरी र प्रशासनले चालकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने माग गरेका छन्। ट्राफिक नियम पालना गराउने नाममा चालकलाई अनावश्यक रूपमा दुःख दिने तथा अपमानजनक व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले आग्रह गरेका छन्।
चालकहरूले ट्राफिक नियम पालना गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै नियम कार्यान्वयन गर्ने क्रममा प्रहरीबाट हुने व्यवहारप्रति भने असन्तुष्टि जनाएका छन्। उनीहरूले चालकका समस्या र गुनासोलाई बल प्रयोग वा दबाबबाट नभई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्। यस्तै, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी र चालकबीच सहकार्यको वातावरण बनाउनुपर्ने माग पनि उनीहरूको छ। चालकहरूले ट्राफिक नियम कार्यान्वयन आवश्यक भए पनि त्यस क्रममा चालकको सम्मान र व्यवहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने बताएका छन्।