काठमाडौं । सूर्या अस्पतालसँग सम्बन्धित समाचार लेखिरहेका एक पत्रकारसँग अस्पतालकी सञ्चालक डा. मोनिका यादव सिंहले गरेको भनिएको केही महिनाअघिको फोन संवाद अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ।
भाइरल भइरहेको उक्त अडियोमा पत्रकार र अस्पताल सञ्चालकबीच समाचार तथा अस्पतालसम्बन्धी विषयलाई लिएर कुराकानी भएको सुनिन्छ। संवादका क्रममा प्रयोग भएको भनिएको भाषा, बोली र प्रस्तुत गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न र टिप्पणी भइरहेका छन्। अस्पतालबारे पत्रकारले उठाएका प्रश्नको जवाफ तथ्य र प्रमाणका आधारमा दिने कि समाचार लेख्ने पत्रकारसँग नै कडा शैलीमा प्रस्तुत हुने भन्ने विषय पनि अहिले चर्चामा आएको छ।
यद्यपि, भाइरल अडियोको पूर्ण सन्दर्भ, यसको प्रामाणिकता तथा संवाद कुन परिस्थितिमा भएको थियो भन्ने विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। त्यसैले अडियोमा सुनिएको संवादलाई त्यसको पूर्ण पृष्ठभूमिसहित बुझ्नुपर्ने देखिन्छ। पत्रकारले सार्वजनिक चासोका विषयमा प्रश्न उठाउनु र सम्बन्धित पक्षको धारणा लिनु पत्रकारिताको सामान्य अभ्यास हो। त्यस्ता प्रश्नमा सम्बन्धित पक्षको जवाफ र आफ्नो पक्ष राख्ने अधिकार पनि उत्तिकै महत्वपूर्ण हुन्छ। अहिले सामाजिक सञ्जालमा पुनः चर्चामा आएको उक्त अडियोमा कस्तो भाषा प्रयोग भएको छ, संवादको शैली कस्तो देखिन्छ र पत्रकारमाथि दबाब दिने प्रयास भएको हो वा होइन भन्ने विषयमा निर्णय भने श्रोता तथा आम नागरिकले नै गर्न सक्छन्।