काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको रुट इजाजत तथा सञ्चालन व्यवस्थापनमा कडाइ गर्न प्रदेशका सम्बन्धित यातायात कार्यालयलाई निर्देशन दिएको छ।
विभागले २०८३ असोज ७ गते जारी गरेको पत्रमार्फत सार्वजनिक सवारीको बाटो इजाजतपत्र जारी गर्दा तोकिएका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो।नयाँ व्यवस्थाअनुसार ७ देखि १४ सिट क्षमताका जीप प्रकृतिका सवारीसाधन, जस्तै टाटा सुमो र महिन्द्रा बोलेरोलाई अधिकतम २५० किलोमिटरसम्मको रुटमा मात्र बाटो इजाजत दिनुपर्नेछ। त्यस्तै, माइक्रोबसका लागि ३०० किलोमिटरसम्मको रुटमा मात्र इजाजतपत्र उपलब्ध गराउन विभागले भनेको छ।
विभागले सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था र प्रदूषण नियन्त्रणमा समेत विशेष ध्यान दिन निर्देशन दिएको छ। अब प्रत्येक सार्वजनिक सवारीसाधनको हरेक ६ महिनामा प्राविधिक जाँचपास तथा प्रदूषण परीक्षण अनिवार्य रूपमा गर्नुपर्नेछ।त्यस्तै, रात्री सेवा सञ्चालन गर्ने सवारीसाधनको बाटो इजाजतपत्रमै रात्री सेवा कायम भएको स्पष्ट उल्लेख हुनुपर्नेछ। इजाजतपत्रमा रात्री सेवा उल्लेख भएका सवारीले मात्र रातको समयमा यात्रु बोक्न पाउने व्यवस्था गरिएको छ।
विभागले रात्री सेवाका नाममा जथाभावी सवारी सञ्चालन तथा भाडा असुली रोक्न पनि निर्देशन दिएको छ। साधारण, डिलक्स र सुपर डिलक्स श्रेणीका यात्रुवाहक सार्वजनिक सवारीलाई सम्बन्धित वर्गअनुसार मान्यता दिई विभागले निर्धारण गरेको अधिकतम भाडा लागू गर्नुपर्नेछ।बाटो इजाजत पुस्तिकामा अनधिकृत व्यक्तिबाट केरमेट गर्ने, ओभरराइट गर्ने वा आफूखुसी विवरण थपघट गर्ने कार्यसमेत रोक्न विभागले निर्देशन दिएको छ। त्यस्तो गैरकानुनी गतिविधि देखिए तत्काल नियन्त्रणमा लिन सम्बन्धित निकायलाई भनिएको छ।
यसैगरी, बाटो इजाजतपत्रमा दिवा सेवा मात्र उल्लेख भएको सवारीलाई रात्री सेवामा सञ्चालन गर्न नपाइने र रात्री सेवा कायम भएको अवस्थामा सोहीअनुसार विवरण उल्लेख गर्नुपर्नेछ।विभागले रातो नम्बर प्लेट भएका निजी चारपाङ्ग्रे सवारीसाधनलाई सार्वजनिक यातायातका रूपमा प्रयोग नगर्न समेत निर्देशन दिएको छ।विभागले यसअघि जारी भएका निर्देशन तथा मापदण्ड पालना नभएको भन्दै पटक–पटक गुनासा आएको उल्लेख गर्दै सम्बन्धित निकायलाई प्रभावकारी निगरानी गर्न आग्रह गरेको छ। तोकिएको व्यवस्था उल्लंघन गरी सवारी सञ्चालन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।
