काठमाडौं ।काठमाडौं महानगरपालिका–१४ स्थित रविभवनमा बिहीबार बिहान सवारीको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्।
मर्निङ वाकमा निस्किएकी करिब ६५ वर्षीया महिलालाई बिहान ४ बजेर ९ मिनेटतिर सवारीले ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनापछि चालक सवारीसहित घटनास्थलबाट भागेका छन्। घाइते महिलाको टाउको र अनुहारमा चोट लागेको छ। गम्भीर अवस्थामा रहेकी उनी बोल्न नसक्ने भएकाले हालसम्म उनको पहिचान खुल्न सकेको छैन।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा संलग्न सवारीको खोजी भइरहेको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गर्दा प्रारम्भिक रूपमा स्कुटरले ठक्कर दिएको हुनसक्ने देखिएको छ। यद्यपि कुन सवारी हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।घाइते महिलाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। फरार चालक तथा दुर्घटनामा प्रयोग भएको सवारी पत्ता लगाउन प्रहरीले खोजी तीव्र बनाएको छ।