काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकको ज्ञान, सीप र जीवन अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउन ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने बताएकी छन्।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले ज्येष्ठ नागरिकलाई संरक्षण र हेरचाहको विषयमा मात्र सीमित नगरी उनीहरूको ज्ञान, अनुभव तथा सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिएकी छन्। उनले परिवार, समाज तथा राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानको सम्मान गर्दै उनीहरूको सुस्वास्थ्य, सुख, शान्ति र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन्।
यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ रहेको छ। मन्त्री बादीका अनुसार दीर्घ जीवन केवल लामो उमेर बाँच्नु मात्र नभई ज्ञान, सीप, संस्कार, सभ्यता र अनुभवको महत्वपूर्ण सम्पदा पनि हो। बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह र एक्लोपनका समस्या थप चुनौतीपूर्ण बन्दै गएको उनले उल्लेख गरेकी छन्।
सरकारले संविधान तथा प्रचलित कानुनअनुसार ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण र हेरचाहसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि मन्त्री बादीले बताएकी छन्। उनका अनुसार ‘अनुभव बैंक’मार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवलाई डिजिटल प्रविधिको प्रयोग गरी अभिलेखीकरण गरिनेछ। यसरी संकलित अनुभवलाई भावी पुस्तासम्म पुर्याउँदै समाज तथा राष्ट्रको विकासमा उपयोग गर्ने योजना मन्त्रालयले अघि बढाउने भएको छ।