काठमाडौँ । बाढीका कारण लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा सञ्चालनमा आएको छ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले सञ्चालन गरेको ‘रसुवा बाढी प्रतिकार्य कार्यक्रम’ अन्तर्गत महेशखोला–भट्टटार–जिन्टेटार डिप बोरिङ खानेपानी योजनाको मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न भएपछि स्थानीयका घरघरमा पानी पुगेको हो। खानेपानी योजना मर्मतका लागि नेपाल रेडक्रस सोसाइटीले ४ लाख ४६ हजार ६८० रुपैयाँ सहयोग गरेको थियो। उक्त रकमबाट आवश्यक मर्मत तथा पुनःस्थापनाका काम पूरा गरिएको जनाइएको छ। योजनाबाट बैरेनीका १८० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।
मर्मत कार्य सम्पन्न भएपछि आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खानेपानी योजनाको औपचारिक शुभारम्भ गरे। उनले बाढीपछि स्वच्छ खानेपानीको अभाव झेलिरहेका नागरिकलाई पुनः सहज रूपमा पानी उपलब्ध गराउन रेडक्रसले गरेको सहयोग महत्वपूर्ण रहेको बताए। नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभकुमार तामाङले विपद्का समयमा खानेपानीजस्तो आधारभूत सेवाको पुनःस्थापना मानवीय सेवाको महत्वपूर्ण पक्ष भएको बताए।
जिल्ला कार्यक्रम संयोजक सरोज थापाले बाढीपछि खानेपानीको अभावमा रहेका स्थानीयको दैनिक जीवन अब सहज हुने विश्वास व्यक्त गरे। विसं २०८३ भदौ १७ गते सम्झौता भई सुरु गरिएको मर्मत कार्य निर्धारित समयमै सम्पन्न भएको हो। खानेपानी योजना पुनः सञ्चालनमा आएपछि लामो समयदेखि पानीको समस्या भोगिरहेका स्थानीयमा राहत मिलेको छ।
बाढी प्रभावित क्षेत्रमा रेडक्रसको सहायता जारी
नेपाल रेडक्रसका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका विभिन्न कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्। रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढी गएको सुरुआती समयदेखि नै प्रभावितको खोज तथा उद्धारमा सहयोग गर्दै अहिले आवास तथा गैरखाद्य सामग्री, खाद्य सामग्री, खानेपानी, सरसफाइ, स्वास्थ्य तथा मनोसामाजिक सहयोगलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। उनका अनुसार हालसम्म त्रिपाल, म्याट्रेस र कम्बललगायतका सामग्री वितरण भइरहेका छन् भने दुई हजारभन्दा बढी प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ।
त्यस्तै, पछिल्लो एक महिनामा २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्याइएको र १८ वटा पानी ट्याङ्की व्यवस्थापन गरिएको रेडक्रसले जनाएको छ। आवश्यक स्थानमा ट्याङ्करमार्फत समेत पानी वितरण भइरहेको छ। प्रभावित तथा जोखिममा रहेका परिवारको अवस्था र स्थानीय आवश्यकतालाई आधार बनाएर राहत तथा मानवीय सहायता थप प्रभावकारी बनाउने रेडक्रसको योजना छ। प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत रहेको जनाइएको छ।