काठमाडौँ । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्को अधिवेशन बोलाउने तथा अन्त्य गर्ने अधिकार राष्ट्रपतिमा रहने व्यवस्था छ। यस्तो निर्णय भने मन्त्रिपरिषद्को सिफारिसका आधारमा हुने गर्दछ।
सङ्घीय संसद्को वर्तमान अधिवेशन वैशाख २८ गतेदेखि सञ्चालनमा आएको थियो। यस अवधिमा संसद् तथा संसदीय समितिहरूमा विभिन्न विधेयकमाथि छलफल तथा प्रक्रिया अघि बढाइएको छ। हाल प्रतिनिधिसभामा दस वटाभन्दा बढी विधेयक विभिन्न चरणमा रहेका छन्। तीमध्ये केही विधेयक संसदीय समितिमा छलफल तथा विचाराधीन अवस्थामा छन्।