काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हाल कायम मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ।
भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य बढेर आए पनि आगामी चाडपर्वलाई मध्यनजर गर्दै निगमले उपभोक्तामाथि थप मूल्यभार नपार्ने निर्णय गरेको हो। निगमले बुधबार जारी गरेको विज्ञप्तिअनुसार हालैको बाढीपहिरोबाट प्रभावित अवस्था, नजिकिँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरिएको हो। नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहने निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा बिक्री मूल्य यथावत् राख्दा निगमलाई आर्थिक भार पर्ने भएको छ। निगमका अनुसार यस निर्णयबाट १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। चाडपर्वको समयमा उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य वृद्धि नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।