काठमाडाैँ । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद चर्किँदा झडप भएको छ।
बुधबार सुन्दरहरैचामा आयोजित अधिवेशनस्थलमा उद्घाटन कार्यक्रम सुरु हुनुअघि नै तोडफोड र हातपात भएपछि अधिवेशन प्रभावित भएको हो। घटनामा कांग्रेस क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार, नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन्। घाइते उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलामाथि समेत हातपात भएको जनाइएको छ। अधिवेशनमा बुधबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो। तर, क्रियाशील सदस्यताको विषयमा देखिएको विवादले उग्र रूप लिएपछि कार्यक्रम अघि बढ्न सकेन। यसअघि पनि यही विषयसँग सम्बन्धित विवादका कारण वडा अधिवेशन निर्धारित समयमा हुन नसकेको बताइएको छ। मोरङ–६ डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। कांग्रेसको संस्थापन पक्षले अधिवेशन प्रभावित पार्ने गतिविधिमा कोइरालानिकट कार्यकर्ताको संलग्नता रहेको दाबी गरेको छ। तर, कोइरालानिकट नेता देवराज तामाङले उक्त आरोप अस्वीकार गरेका छन्।
तामाङका अनुसार क्षेत्र नम्बर ६ मा लामो समयदेखि क्रियाशील सदस्यताको विषयमा असन्तुष्टि थियो। उनका अनुसार वडा तहमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने क्रममा उत्पन्न विवादकै कारण अधिवेशनस्थलमा तनाव भएको हो। आफूमाथि लगाइएको आरोप पुष्टि गर्नुपर्ने तामाङको भनाइ छ। उनका अनुसार विवादमा असन्तुष्ट वडाका प्रतिनिधिहरू संलग्न रहेको दाबी गरिएको छ। घटनापछि कांग्रेसका नेताहरूले विवाद साम्य पार्ने र अधिवेशनको वातावरण सहज बनाउने प्रयास गरिरहेका छन्। कांग्रेस नेता रमेशजंग रायमाझीले विकसित परिस्थितिलाई समाधान गर्ने प्रयास भइरहेको बताएका छन्।