काठमाडौं ।त्रिपुरेश्वरमा बसमा भएको आगजनीका क्रममा ज्यान गुमाएका चालक अर्जुन दोङका परिवारले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै सिंहदरबार पुगेका छन्।
अर्जुनकी आमा माइली माया दोङसहित परिवारका सदस्य बुधबार सिंहदरबारको दक्षिण गेटमा पुगेर घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका हुन्।माइली माया दोङले छोराको मृत्युको घटनामा दोषी देखिने व्यक्तिलाई कानुनअनुसार कारबाही गरी आफूहरूलाई छिटो न्याय दिनुपर्ने बताइन्। न्यायका लागि सम्बन्धित निकायमा पटक–पटक पुग्नुपरेको उनको भनाइ छ।उनले छोरालाई अरूको प्रभावमा नपरी सुरक्षित रूपमा बस चलाउन र घर फर्किएर नागरिकता बनाउनसमेत पटक–पटक आग्रह गर्दै आएको स्मरण गरिन्।
असोज ५ गते रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि गम्भीर अवस्थामा रहेका चालक दोङको शरीरको अधिकांश भाग जलेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ।परिवारले घटनाको वास्तविक कारण पत्ता लगाई दोषीमाथि कानुनी कारबाही र आफूहरूलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।