काठमाडौं ।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले युवाले हासिल गरेको सीपलाई रोजगारी तथा उद्यममा रूपान्तरण गर्न ढिलाइ गर्न नहुने बताएका छन्।
इटहरीमा आयोजित सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै सभामुख अर्यालले रोजगारीका अवसर विस्तार भए मात्रै देशको अर्थतन्त्रलाई थप मजबुत बनाउन सकिने धारणा राखे।उनले युवालाई केवल रोजगारी खोज्ने समूहका रूपमा नभई दक्ष, उत्पादनशील र आफैंले रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।उनका अनुसार नेपालभित्र उपलब्ध रोजगारीको माग र युवाको सीपबीच पर्याप्त समन्वय हुन नसक्दा रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिनुपर्ने अवस्था देखिएको छ। त्यसैले श्रमबजारको आवश्यकता पहिचान गर्दै सीप विकासका कार्यक्रमलाई त्यसअनुसार अघि बढाउनुपर्ने उनको भनाइ छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सुरु भएको मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। युवालाई व्यवसाय तथा उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी’ विषयमा विशेष छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ।मेलामार्फत युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम दिने संस्थाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने लक्ष्य राखिएको छ। सहभागी छनोट, सीप प्रोफाइल तयार गर्ने, रोजगार मिलान तथा रोजगारीसम्बन्धी सूचना र परामर्श सेवा पनि उपलब्ध गराइनेछ।असोज १५ देखि १९ गतेसम्म विभिन्न १० विधामा व्यावहारिक तालिम सञ्चालन गर्ने तयारी गरिएको छ। मेला अवधिमा सीप तथा उत्पादन प्रदर्शन, परामर्श, रेफरल सेवा, रोजगार मिलान र उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।