काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको विवादमा आफूहरू न्यायको पक्षमा रहेको बताउँदै अदालतबाट आफ्नो पक्षमा फैसला आउने विश्वास व्यक्त गरेका छन्।
बुधबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै महतले कांग्रेसको विशेष महाधिवेशन तथा त्यसबाट उत्पन्न नेतृत्वसम्बन्धी विवादलाई न्यायिक प्रक्रियामार्फत समाधान गर्न खोजिएको बताए। यसअघि भएको अदालतको निर्णयमा त्रुटि रहेको आफूहरूको दाबी रहेको र सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खुला गरिदिएपछि आफ्नो पक्ष थप बलियो बनेको उनको भनाइ थियो।महतले आफूहरू सत्यका पक्षमा रहेकाले अन्ततः न्याय प्राप्त हुने विश्वास व्यक्त गरे। न्यायिक प्रक्रियाबाट पनि उचित निर्णय नआए त्यसले न्याय प्रणालीप्रतिको गम्भीर प्रश्न उठाउने उनको धारणा थियो।
उनले कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न हुनुपर्नेमा जोड दिए। महाधिवेशनमा पार्टीभित्रका सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने र यस विषयमा सहमति बन्न नसकेपछि आफूहरू अदालत पुगेको उनले बताए।महतका अनुसार पूर्वसभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वका रूपमा १५औँ महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने धारणा राखिसकेका छन्। विशेष महाधिवेशनको उद्घाटनमा देउवा सहभागी हुने विषयमा भइरहेको प्रचारप्रति पनि महतले असहमति जनाउँदै त्यस्तो सम्भावना नरहेको बताए।उनले आफूहरूको मुख्य चासो आगामी महाधिवेशनबाट आउने नेतृत्व प्रक्रिया निष्पक्ष, पारदर्शी र सबै पक्षको सहभागितामा आधारित हुनु रहेको स्पष्ट पारे।