काठमाडौं ।श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा पार्टीका सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई संसद्को रोस्टमबाटै सच्याउनुपर्ने वा आधिकारिक रेकर्डबाट हटाउनुपर्ने बताएका हुन्।बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद अम्बिकादेवी संग्रौलालाई आफ्नो धारणा राख्ने समय दिएका थिए।
सांसद संग्रौलाले गत जेठ १७ गते संसद्मा प्रधानमन्त्रीले नेपालले पनि भारततर्फ सीमा अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने बताइन्।उनले उक्त अभिव्यक्ति सच्याउने वा रेकर्डबाट हटाउने विषयमा यसअघि पनि माग गरिए पनि सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। साथै, यो विषय कहिलेसम्म टुंगो लाग्छ भन्नेबारे सभामुखमार्फत जवाफ माग गरिन्।