काठमाडौं ।सीडीएस एन्ड क्लियरिङ लिमिटेड सीडीएससी ले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली एनआरएन फण्ड नेपाल भित्र्याउने प्रक्रियाका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सीडीएससीका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालनका विषयमा नेपाल स्टक एक्सचेञ्ज नेप्से लगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए।उनका अनुसार अक्सन मार्केटको कारोबार व्यवस्थापन र सेटलमेन्टसम्बन्धी जिम्मेवारी सीडीएससीले सम्हाल्ने तथा बजार सञ्चालनको जिम्मा नेप्सेले लिने गरी प्रक्रिया अघि बढाइएको छ। आवश्यक समन्वयपछि यो व्यवस्था कार्यान्वयनतर्फ जाने उनले बताए।
त्यस्तै, एनआरएन फण्ड नेपालमा ल्याउने विषयमा पनि सीडीएससी र नेप्सेले आवश्यक तयारी तथा कार्ययोजना तयार गरिसकेको सापकोटाले बताए। अब प्रक्रिया अघि बढाएर त्यसको परिणाम देखिने चरणमा पुगेको उनको भनाइ छ।लगानीकर्तालाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सीडीएससीले आफ्नो प्राविधिक क्षमता तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको उनले बताए। ठूलो संख्यामा लगानीकर्ताको धितोपत्र स्वामित्वको अभिलेख व्यवस्थापन गर्ने भएकाले संस्थाको प्रणाली सुरक्षित, भरपर्दो र क्षमतावान् हुनुपर्ने उनको भनाइ छ।
सापकोटाले सीडीएससीको पूर्वाधार विकासमा आवश्यकताअनुसार स्रोत र बजेट व्यवस्थापन गरिने बताए। प्रविधि तथा प्रणालीको क्षमता अभिवृद्धिमा कुनै सम्झौता नगरी लगानीकर्तालाई थप गुणस्तरीय सेवा दिने गरी काम अघि बढाइने उनले स्पष्ट पारे।