काठमाडौं ।रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ विद्यार्थीलाई विद्यालय पुग्न दैनिक निकै कठिन र जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रबाट आउने विद्यार्थीका लागि सहज यातायातको व्यवस्था नहुँदा उनीहरू खोलानाला पार गर्दै र तुइनको सहारा लिएर विद्यालय पुग्ने गरेका छन्।विद्यालयकी शिक्षिका रन्जना थापाका अनुसार शान्तिबजार र पैरेबेँसी क्षेत्रबाट आउने विद्यार्थीको नियमित यात्रा निकै चुनौतीपूर्ण बनेको छ। उनीहरूले बिहानैदेखि पैदल हिँड्नुपर्ने र बाटोमा जोखिमपूर्ण रूपमा सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्था रहेको उनले बताइन्।
विद्यार्थीहरू सुरुमा सलाखु खोला पार गरेर करिब एक घण्टा पैदल हिँड्छन्। त्यसपछि सवारीसाधनमार्फत त्रिशूली नदी किनारको कोलोनीसम्म पुग्छन्। त्यहाँबाट तुइन प्रयोग गरेर त्रिशूली नदी पार गरी ढुङ्गे बजारतर्फ जानुपर्ने बाध्यता छ।ढुङ्गे बजार पुगेपछि उनीहरू माइक्रोबस चढेर आङ्गिटार पुग्छन्। त्यसपछि सिहाले गाउँ हुँदै करिब आधा घण्टा उकालो पैदल यात्रा गरेपछि बेत्रावती पुग्छन्। बेत्रावतीमा फड्के पार गरेपछि थप करिब २० मिनेट उकालो हिँडेर मात्र विद्यालय पुग्ने गरेका छन्।
बाढीपछि विद्यार्थीले भोगिरहेको यो कठिन यात्रा सामान्य अवस्थाको भन्दा निकै जोखिमपूर्ण बनेको शिक्षिका थापाको भनाइ छ। शिक्षा लिन जाने बालबालिकाले दैनिक ज्यान जोखिममा राख्नुपर्ने अवस्थाले उनीहरूको सुरक्षा र नियमित अध्ययन दुवैमा असर पारिरहेको छ।विद्यार्थीको यस्तो अवस्थालाई स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले प्राथमिकतामा राखेर सुरक्षित आवागमनको व्यवस्था गर्नुपर्ने शिक्षिका थापाले बताइन्। बाढीबाट प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक मार्ग तथा सुरक्षित यातायातको व्यवस्था गर्नुपर्ने उनको माग छ।