काठमाडौं ।गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडकको ठूलो भाग भासिएपछि रेसुङ्गा विमानस्थलतर्फ जाने सडक पूर्ण रूपमा बन्द भएको छ।
सडकमा क्षति पुगेपछि तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडीतर्फ जाने मार्गसमेत प्रभावित भएको छ।सिमीचौर क्षेत्रमा करिब ८० मिटर पक्की सडक जमिनसँगै भासिएपछि नियमित यातायात सञ्चालन गर्न नसकिएको स्थानीयले बताएका छन्। जोखिम मोलेर केही मोटरसाइकल भने आवतजावत गरिरहेका छन्। प्रारम्भिक विवरणअनुसार सडक क्षतिबाट एक करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
सडक भासिँदा नजिकैका दुई घरसमेत पहिरोको जोखिममा परेका छन्। स्थानीय बासिन्दाले लगातार वर्षा भइरहेकाले घर तथा आसपासको बस्तीमा थप क्षति हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।उक्त सडक सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको थियो। गत असार मसान्तमा निर्माण सम्पन्न भएको सडक एक वर्ष पनि नपुग्दै लगातारको वर्षाका कारण गम्भीर रूपमा भासिएको हो।
सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवका अनुसार तत्काल आवागमन सहज बनाउन अस्थायी वैकल्पिक मार्ग निर्माण गर्ने तयारी भइरहेको छ। एक–दुई दिनभित्र अस्थायी बाटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणका लागि भने थप समय आवश्यक पर्ने उनले बताए।सडक बन्द भएपछि रेसुङ्गा विमानस्थल जाने यात्रु, तम्घासतर्फ अध्ययनका लागि जाने विद्यार्थी तथा स्थानीय सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।