काठमाडौं ।काठमाडौंको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका श्रमिकहरू श्रम अदालतको फैसला कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
लामो समयदेखि कम्पनीमा काम गर्दै आएका श्रमिकहरूले आफूहरूले कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक तथा अन्य श्रम सुविधा नपाएको भन्दै सम्बन्धित निकायमा उजुरी दिएका थिए। उनीहरूले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष, उपदान तथा विभिन्न प्रकारका बिदाको सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन्।यस विषयमा श्रम तथा रोजगार कार्यालयले २०८० जेठ ४ गते श्रमिकको पक्षमा निर्णय गर्दै श्रम ऐन, २०७४ अनुसार आवश्यक सेवा–सुविधा उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिएको थियो।
कार्यालयको निर्णयप्रति असहमति जनाउँदै कम्पनी व्यवस्थापनले श्रम अदालतमा पुनरावेदन गरेको थियो। तर श्रम अदालतले २०८१ जेठ ३२ गते उक्त पुनरावेदन खारेज गर्दै श्रम तथा रोजगार कार्यालयको निर्णयलाई नै कायम राखेको थियो।अदालतको फैसलाअनुसार श्रमिकलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम रकम भुक्तानी गर्न नमिल्ने उल्लेख गरिएको छ। साथै विगतमा कटौती भएको रकम फिर्ता गर्न तथा सञ्चय कोष, उपदान, बिरामी बिदा र घर बिदालगायतका सुविधा कानुनअनुसार उपलब्ध गराउनुपर्ने ठहर गरिएको छ।
फैसला अन्तिम भइसकेको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा आवश्यक पत्राचारसमेत भइसकेको श्रमिकहरूको भनाइ छ। तर फैसला आएको लामो समय बितिसक्दा पनि व्यवस्थापनले कार्यान्वयनमा ढिलाइ गरेको भन्दै उनीहरूले तत्काल निर्णय लागू गर्न दबाब दिएका छन्।श्रमिकहरूले आफूहरूको कानुनी अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।