काठमाडौं ।नेपाल धितोपत्र बोर्ड सेबोन ले पुँजीबजारलाई थप सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन जोखिम तथा सुशासनमा केन्द्रित नियमन प्रणाली अघि बढाएको जनाएको छ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारको संरचना र कार्यप्रणालीलाई आधुनिक बनाउन विभिन्न संस्थागत तथा प्रणालीगत सुधार अघि बढिरहेको जानकारी दिए।उनका अनुसार सेयर तथा डेरिभेटिभ कारोबारमा कारोबार पूरा हुने सुनिश्चितताका लागि ‘सेन्ट्रल काउन्टर पार्टी’ सीसीपी आवश्यक बन्दै गएको छ। सीसीपीको व्यवस्था नेप्सेमार्फत छुट्टै संरचना बनाएर वा सीडीएससीको पूर्वाधार र क्षमता विस्तार गरी गर्न सकिने विकल्पबारे बोर्डले अध्ययन गरिरहेको उनले बताए।
अध्यक्ष भट्टले पुँजीबजारको स्थायित्व र लगानीकर्ताको हितलाई ध्यानमा राखेर जोखिममा आधारित सुपरीवेक्षणलाई प्राथमिकता दिइएको बताए। अन्तर्राष्ट्रिय अभ्यासअनुसार जोखिम बढी देखिएका क्षेत्र र संस्थामा तुलनात्मक रूपमा कडा निगरानी तथा नियमन गर्ने नीति अघि सारिएको उनको भनाइ छ।पुँजीबजारमा सर्वसाधारणको रकम परिचालन हुने भएकाले संस्थागत सुशासन बलियो भएका कम्पनीलाई मात्र बजारमा प्रवेश गराउनेतर्फ ध्यान दिइएको उनले बताए। बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिन सक्ने जोखिमको प्रभाव सेयर लगानीकर्तामाथि नपरोस् भन्नका लागि नेपाल राष्ट्र बैंकसँग समेत समन्वय भइरहेको उनले जानकारी दिए।
लगानीकर्तालाई क्षतिपूर्ति दिनेभन्दा कम्पनीको वास्तविक वित्तीय अवस्था, आगामी योजना र सम्भावित जोखिमबारे समयमै तथा निरन्तर सूचना उपलब्ध गराएर लगानी निर्णयका लागि सक्षम बनाउने नीति लिइएको बोर्डको भनाइ छ। भित्री सूचना प्रयोग गरेर केही लगानीकर्ताले अनुचित लाभ लिन सक्ने अवस्था नियन्त्रण गर्न पनि निगरानी बढाइने बताइएको छ।अध्यक्ष भट्टले बजारमा अचानक कडा कदम चाल्नुको सट्टा लगानीकर्तालाई पर्याप्त जानकारी दिँदै आवश्यक सुधारहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने नीति रहेको स्पष्ट पारे।