काठमाडौँ । कब्जामा रहेको पश्चिम किनाराको एक प्यालेस्टिनी गाउँमा १०० भन्दा बढी इजरायली बस्तीका बासिन्दाले आक्रमण गरेका छन्।
आक्रमणका कारण यसअघि आफ्नो घर छाड्न बाध्य भएको एक प्यालेस्टिनी परिवारलाई पुनः घर फर्कनबाट रोकिएको छ। बीबीसीका अनुसार पश्चिम किनाराको जलुद गाउँमा भएको घटनाका क्रममा आक्रमणकारीहरूले ढुंगा प्रहार गर्नुका साथै सडक अवरुद्ध गरेका थिए। उनीहरूले केही घर तथा सवारीसाधनमा आगजनीसमेत गरेको इजरायली सेनाले जनाएको छ। इजरायली सेनाका अनुसार ती बस्तीका बासिन्दाले उच्च अदालतको आदेशको समेत अवज्ञा गरेका थिए। अदालतले घर छाड्न बाध्य भएका प्यालेस्टिनी परिवारलाई आफ्नो घर फर्कन अनुमति दिएको थियो। घटनापछि गाउँमा तनावको अवस्था सिर्जना भएको छ। आक्रमणबाट प्यालेस्टिनी परिवारको सम्पत्तिमा क्षति पुगेको बताइएको छ।