काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदलगायत ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो नतिजा हासिल गर्न खेलकुद क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको बताएका छन्।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले खेलाडी उत्पादनको आधार मानिने ‘ग्रासरुट’ तहदेखि नै पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए। उनले विगतमा खेलकुदको तल्लो तहमा अपेक्षित लगानी हुन नसक्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर देखिएको बताए। खेलकुदमा लगानी गरेलगत्तै नतिजा खोज्नुभन्दा निरन्तर र योजनाबद्ध लगानीमार्फत खेलाडी उत्पादन तथा क्षमता विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
खेलकुद पूर्वाधार विस्तारका लागि सहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच सहकार्य गरी देशका २७ स्थानमा कभर्ड हल, क्रिकेट तथा फुटबल रङ्गशालालगायतका संरचना निर्माण अघि बढाइएको पनि मन्त्री पोखरेलले जानकारी दिए। विभिन्न प्रतियोगितामा सफलता हासिल गर्ने खेलाडीलाई घोषणा गरिएको नगद पुरस्कार उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको उनले बताए। पुरस्कार पाउन बाँकी खेलाडीका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक आर्थिक स्रोत सुनिश्चित गरिएको उनको भनाइ छ। मन्त्री पोखरेलले घरेलु खेलकुदलाई थप व्यवस्थित बनाउन लिग सञ्चालनबारे खेलाडीहरूसँग छलफल भइरहेको र घरेलु लिग सञ्चालनको तयारी अघि बढाइएको जानकारी दिए।