काठमाडाैँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग तथा व्यवसाय विस्तारका लागि स्थानीय समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्ने बताएकी छन्।
मंगलबार बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले उद्योगी–व्यवसायीसँग छलफल र परामर्श गरेर औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्। उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन्। यी संरचनाले लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको उनको भनाइ थियो।
भण्डारीले आफूले पहिलोपटक एमालेको उपाध्यक्षको जिम्मेवारीसमेत लुम्बिनीबाटै पाएको स्मरण गरिन्। त्यतिबेला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदानलगायतका पूर्वाधार निर्माण गर्ने विषयमा छलफल भएको र अहिले ती संरचना बनेको भन्दै उनले खुसी व्यक्त गरिन्। उनले भनिन्, “पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट पाएकी थिएँ। त्यतिबेला यहाँ आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ भन्ने कुरा भएको थियो। अहिले ती संरचना निर्माण भएर पूरा भएका छन्, यो हामी सबैका लागि खुसीको कुरा हो।”
एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा भण्डारीले खुसी व्यक्त गरिन्। यद्यपि, वरिष्ठ नेताको जिम्मेवारी औपचारिक रूपमा कसरी अघि बढाउने भन्ने प्रक्रिया भने अझै टुंगिन बाँकी रहेको उनले बताइन्। लुम्बिनीमा विमानस्थल, सम्मेलन केन्द्र र सडक पूर्वाधार बनेसँगै अब उद्योग तथा व्यवसायको विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। उद्योगी–व्यवसायीका समस्या सुनेर समाधान खोज्दै अघि बढ्नुपर्ने उनले बताइन्। हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गरेको थियो।