काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले लिखित बयान लिएको छ।
मंगलबार पुलचोकस्थित आयोगको कार्यालयमा उपस्थित भएका एसएसपी खड्काले घटनासम्बन्धी आफ्नो लिखित बयान दिएका हुन्। आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार खड्कासँग बयान लिइएको हो।यसअघि आइतबार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई प्रहरीले भेट्न अनुमति दिएको थिएन। जबरालाई प्रहरीले पक्राउ गरी टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको अवस्थामा आयोगको टोली उनको अवस्था बुझ्न त्यहाँ पुगेको थियो।
तर, प्रहरीले आयोगको टोलीलाई कार्यालयको गेटबाटै फर्काएपछि आयोगले घटनाप्रति आपत्ति जनाएको थियो। त्यसपछि आयोगले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाउँदै एसएसपी खड्कालाई बयानका लागि बोलाएको हो।घटनासम्बन्धी थप विवरणबारे आयोगको अनुसन्धान महाशाखाले आवश्यक छानबिन गरिरहेको जनाएको छ।