काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले आफ्नो पद रिक्त गर्ने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रदेशसभा सचिवालयले गरेको निर्णयविरुद्ध शर्माले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै खारेज गर्ने आदेश दिएको हो।शर्माको प्रदेशसभा सदस्य पद रिक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णयसमेत गरेको छ। यससँगै प्रदेशसभा सचिवालयको निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलेको छ।
शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको गतिविधिमा संलग्न भएको आरोपमा नेपाली कम्युनिस्ट पार्टीको सिफारिसपछि प्रदेशसभा सचिवालयले उनको सांसद पद रिक्त भएको निर्णय गरेको थियो।उक्त निर्णयलाई चुनौती दिँदै शर्मा सर्वोच्च अदालत पुगेका थिए। तर, संयुक्त इजलासले उनको रिट खारेज गरेपछि पद रिक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय कार्यान्वयन हुने अवस्था बनेको हो।