काठमाडौं ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसुवा बाढीबाट प्रभावित विद्यार्थीका लागि विशेष सुविधा उपलब्ध गराउन माग गरेको छ।
कमिटीले सोमबार त्रिविका उपकुलपति प्रा।डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै प्रभावित विद्यार्थीलाई अध्ययनका क्रममा लाग्ने शैक्षिक शुल्कमा सहुलियत दिनुका साथै छात्रावासको व्यवस्था गर्न आग्रह गरेको हो।जिल्ला कमिटीका कार्यवाहक संयोजक हिक्मत कुमार बुढाका अनुसार विश्वविद्यालयको शैक्षिक वातावरण, सुशासन र विद्यार्थीका अधिकारसँग जोडिएका विषयमा तत्काल निर्णय आवश्यक छ।
अनेरास्ववियुले त्रिविको ६७औँ सिनेट बैठक छिटो बोलाएर रोकिएका बजेट, नीति तथा प्रशासनिक निर्णय अघि बढाउन पनि माग गरेको छ। साथै रिक्त सिनेट सदस्यको मनोनयन प्रक्रिया तत्काल पूरा गर्न आग्रह गरिएको छ।त्यसैगरी, त्रिविको सम्बन्धनसम्बन्धी नियम उल्लंघन गर्दै एउटै पूर्वाधार तथा व्यवस्थापनबाट अन्य विश्वविद्यालय वा शैक्षिक बोर्डका कार्यक्रम सञ्चालन गर्ने क्याम्पसको छानबिन गरी कारबाही गर्न माग गरिएको छ। त्रिविका अतिक्रमित चल तथा अचल सम्पत्ति कानुनी प्रक्रियाबाट फिर्ता ल्याउनसमेत संगठनले जोड दिएको छ।
विद्यार्थीका जायज माग सम्बोधन गर्नु विश्वविद्यालय प्रशासनको प्राथमिक जिम्मेवारी भएको बताउँदै अनेरास्ववियुले स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्न आग्रह गरेको छ। मागहरू समयमै सम्बोधन नभए विद्यार्थी, प्राध्यापक तथा अन्य सरोकारवालासँग समन्वय गरेर थप दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ।