काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला उनलाई भेट्न गएको आयोगको टोलीलाई प्रहरीले भेट गर्न अनुमति नदिएपछि आयोगले एसएसपी खड्कालाई स्पष्टीकरण तथा सोधपुछका लागि बोलाएको हो।आयोगले खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुन पत्राचार गरेको जनाएको छ। आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार हिरासत अनुगमनका लागि पुगेको आयोगको टोलीलाई प्रवेश गर्न नदिएको विषयमा खड्कासँग सोधपुछ गरिनेछ।यसअघि आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली जबरालाई भेट्न टेकु पुगेको थियो। तर प्रहरीले भेट गर्न अनुमति नदिएपछि आयोगको टोली त्यहाँबाट फर्किएको थियो।आयोगले उक्त घटनाबारे जानकारी लिन एसएसपी खड्कालाई बयानका लागि बोलाएको हो।