काठमाडौं ।मनाङको हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य सोमबार बिहानैदेखि जारी छ।
सम्भावित क्षेत्रमा हेलिकप्टरमार्फत निगरानी र खोजी गर्नुका साथै उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा उद्धारकर्मीले हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बेपत्ताको अवस्था पत्ता लगाउने प्रयास गरिरहेका छन्।प्रारम्भिक विवरणअनुसार हिमपहिरोपछि १० जना सम्पर्कविहीन भएको बताइए पनि वास्तविक संख्या भने अझै यकिन भइसकेको छैन। मनाङ प्रशासनले घटनासम्बन्धी थप विवरण संकलन गर्दै सम्पर्कविहीनहरूको खोजी गरिरहेको जनाएको छ।
आइतबार उद्धार गरिएका दुई जनाको शव चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ती दुवै शव काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।सम्पर्कविहीनहरूको खोजी र उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी तथा सम्बन्धित उद्धार टोलीलाई आवश्यक समन्वयसहित परिचालन गरिएको प्रशासनले जनाएको छ।