काठमाडौं ।कैलालीको चुरे गाउँपालिका–१ निगालीमा पास्नी भोजका क्रममा भएको विवादपछि एक व्यक्तिको मृत्यु भएको र घटना लुकाउन शव भीरमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय ५२ वर्षीय यज्ञबहादुर बोहराको कुटपिटबाट मृत्यु भएको आशंका गरिएको छ। ५ असोजमा आफन्त धनबहादुर बोहराको नातिको पास्नीमा सहभागी भएका यज्ञबहादुर त्यसपछि सम्पर्कविहीन भएका थिए। खोजी गर्ने क्रममा उनको शव तुलिखेत जंगलस्थित भीरमा भेटिएको थियो।घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले भोजमा यज्ञबहादुरसँगै मदिरा सेवन गरेका आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनबहादुर बोहरासहित मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा रहेका छन्।
मृतकका छोराले दिएको जाहेरीपछि आठै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।प्रहरी अनुसन्धानअनुसार भोजमा मदिरा सेवन गर्ने क्रममा यज्ञबहादुर र मानबहादुरबीच विवाद भएको थियो। श्रीमतीलाई गाली गरेको पुरानो विषयलाई लिएर सुरु भएको भनिएको विवाद पछि हातपातमा परिणत भएको थियो। कुटपिटपछि यज्ञबहादुर अचेत अवस्थामा ढलेका थिए।
प्रहरी स्रोतका अनुसार कुटपिटपछि उनको मृत्यु भएको र घटना बाहिर नआओस् भनेर शवलाई भीरतर्फ लगेर फालिएको आशंका गरिएको छ। पक्राउ परेकामध्ये केहीले घटनास्थलमै मृत्यु भएपछि डरका कारण शव भीरमा फालेको बयान दिएको प्रहरी स्रोतको दाबी छ।यस घटनासँग सम्बन्धित कुटपिटको भिडियोसमेत बाहिरिएको प्रहरीले जनाएको छ। भिडियोमा घटनाका क्रममा केही व्यक्तिबीच भएको कुराकानी सुनिन्छ।प्रारम्भमा दुई जनाबीच विवाद र कुटपिट भएको देखिए पनि शव अन्यत्र लगेर फाल्ने कार्यमा थप व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको वास्तविक कारण र संलग्नताको विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।