काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओ को जिम्मेवारी निरज शर्माले सम्हालेका छन्।
इसेवा सञ्चालक समितिले भदौ ३० गते गरेको निर्णयअनुसार शर्मा चार वर्षका लागि सीईओ नियुक्त भएका हुन्।शर्माले सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड सेवा, डिजिटल रूपान्तरण र रिटेल बैंकिङका क्षेत्रमा काम गरेको अनुभव बोकेका व्यक्ति हुन्।उनले डिजिटल प्रविधि तथा नवप्रवर्तन, रणनीतिक व्यवसाय विस्तार र ग्राहक केन्द्रित सेवाको विकासमा समेत काम गरिसकेका छन्। शर्माको अनुभवबाट इसेवाको डिजिटल वित्तीय सेवा विस्तार र आगामी व्यावसायिक रणनीतिमा थप योगदान पुग्ने अपेक्षा कम्पनीले गरेको छ।
यसअघि इसेवाको सीईओ रहेका जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। खड्का २०७९ असोज १२ गते सीईओ नियुक्त भएका थिए।खड्काको नेतृत्वमा इसेवाका प्रयोगकर्ता र मर्चेन्ट नेटवर्क उल्लेख्य रूपमा विस्तार भएको कम्पनीले जनाएको छ। हाल इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाखभन्दा बढी तथा मर्चेन्ट संख्या ६ लाखभन्दा माथि पुगेको छ।उनकै कार्यकालमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिंक, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा र विभिन्न इन्स्योरेन्स प्रोडक्टलगायत सेवा थप तथा विस्तार भएका थिए।
दृष्टिविहीन प्रयोगकर्तालाई लक्षित ‘टकब्याक’ सुविधा र नेपाली भाषामा एप सञ्चालनजस्ता पहलमार्फत डिजिटल वित्तीय सेवामा पहुँच विस्तार गर्ने काम पनि खड्काको कार्यकालमा भएको कम्पनीले जनाएको छ।अब नयाँ नेतृत्व सम्हालेका शर्मासामु इसेवाले विस्तार गरेको डिजिटल भुक्तानीको पहुँचलाई थप फराकिलो बनाउँदै वित्तीय प्रविधिमा भइरहेको परिवर्तनअनुसार नयाँ सेवा र रणनीति अघि बढाउने जिम्मेवारी रहनेछ।