स्याङ्जा । कालीगण्डकी नदीमा आएको बाढीको बहाव घटेपछि स्याङ्जाको बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु गर्ने तयारी गरिएको छ।
लगातार चार दिनसम्म भएको भारी वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको थियो। कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीको पानीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने तथा पावर हाउसको अवस्था निरीक्षण गर्ने काम गरिएको छ। प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण पूरा गरेकाले सोमबार बिहान १० बजेदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए।
उनका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम न्यूनीकरणका लागि आयोजनाको उत्पादन बन्द गरिएको थियो। बाढीका बेला मिर्मीस्थित आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीतर्फ निकास गरिएको थियो। १४४ मेगावाट जडित क्षमता रहेको कालीगण्डकी ‘ए’ आयोजना बन्द हुँदा विद्युत् प्रणालीमा समेत प्रभाव परेको थियो। यसैबीच, लगातारको वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको छ। डुबानबाट प्रभावित २६ घरपरिवारलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरी राखिएको छ। यस्तै, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल पनि कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको छ।