काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीको आगामी नेतृत्वलाई लिएर आन्तरिक गतिविधि र छलफल तीव्र बनेको छ।
वडा तहबाट सुरु भएको अधिवेशन प्रक्रिया पालिका, क्षेत्र हुँदै महाधिवेशन प्रतिनिधि छनोटतर्फ अघि बढेसँगै सभापतिसहित पदाधिकारीका सम्भावित उम्मेदवारबारे कांग्रेसभित्र चर्चा बढेको हो। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापतिपछि महामन्त्री पदलाई महत्वपूर्ण रूपमा हेरिएको छ। यही क्रममा कांग्रेस नेता डा. सुनीलकुमार शर्माको नाम महामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएको छ।
शर्मासँगै वर्तमान महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य मधु आचार्य पनि महामन्त्रीका आकांक्षीका रूपमा चर्चामा छन्। पदाधिकारी चयनलाई लिएर नेताहरूबीच आन्तरिक छलफल र समीकरण निर्माणको क्रमसमेत अघि बढिरहेको छ। कांग्रेस राजनीतिमा शर्माको सक्रियता भने नयाँ होइन। उनले २०५४ सालमा पार्टी सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए। १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय रहँदै आएका शर्मा आफ्ना धारणा स्पष्ट रूपमा राख्ने तथा कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा परिचित छन्।
स्वास्थ्य र शिक्षा क्षेत्रमा उनको सक्रियता बढी चर्चामा रहे पनि शर्माको सार्वजनिक गतिविधि त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकलाई सहयोग र सार्वजनिक सरोकारका विषयमा आवाज उठाउने काममा पनि उनी सक्रिय देखिन्छन्। पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप विस्तार गर्ने प्रयास भइरहेको छ। फाउन्डेसनको नेतृत्व सम्हालेपछि शर्माले आर्थिक अभावका कारण उपचारबाट वञ्चित एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा गरिएको यस्तो पहललाई उनका समर्थकहरूले जनताको दैनिक जीवनसँग राजनीतिक भूमिकालाई जोड्ने प्रयासका रूपमा व्याख्या गर्दै आएका छन्।
कांग्रेस सभापतिका लागि गगनकुमार थापाको प्रतिस्पर्धीका रूपमा अहिलेसम्म अर्को कुनै प्रमुख नाम खुलेर अगाडि आएको छैन। यही राजनीतिक परिवेशमा थापासँग सहकार्य गर्दै पार्टी संगठनलाई प्रभावकारी बनाउन सक्ने महामन्त्रीका रूपमा शर्माको नामसमेत चर्चामा आएको हो। शर्माको पक्षमा कार्यकर्तामाझको पहुँच, थापासँगको राजनीतिक सहकार्य र सामाजिक क्षेत्रमा देखिएको सक्रियतालाई मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ। यद्यपि महाधिवेशनको अन्तिम समीकरण, उम्मेदवारी र नेतृत्व समूहबारेको तस्वीर भने आगामी दिनमा थप स्पष्ट हुँदै जाने देखिन्छ।
कांग्रेसमा महामन्त्री पदलाई संगठन सञ्चालन, पार्टी नीति कार्यान्वयन तथा कार्यकर्तासँग समन्वय गर्ने महत्वपूर्ण जिम्मेवारीका रूपमा लिइन्छ। त्यसैले १५औँ महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा केवल व्यक्तिको दाबेदारीमा सीमित नरही पार्टीको आगामी संगठनात्मक दिशा, कार्यशैली र जनतासँगको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने बहससँग समेत जोडिएको छ।