काठमाडौं । लगातार चार दिनसम्म झरी परेपछि आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकाको मौसम खुल्न थालेको छ। उपत्यकाका धेरै ठाउँमा घाम लाग्न थालेसँगै केही दिनदेखि ढाकिएको आकाश सफा देखिन थालेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै गएको छ। यद्यपि आइतबार देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना कायमै रहेको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार केही स्थानमा भारी वर्षा हुन सक्ने भए पनि धेरै क्षेत्रमा वर्षाको तीव्रता अघिल्ला दिनको तुलनामा कम हुने देखिएको छ। उत्तर प्रदेश आसपासको न्यूनचापीय प्रणाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले पछिल्ला दिनमा ती क्षेत्रमा वर्षाको प्रभाव बढी देखिएको थियो।
अहिले उक्त प्रणाली कमजोर हुँदै गएसँगै काठमाडौंसहित बागमती प्रदेशमा पनि मनसुनी गतिविधि केही कम भएको मौसमविद्ले बताएका छन्। यसअघि बंगालको खाडीबाट जलवाष्प बोकेको हावा नेपालको मध्य भूभागतर्फ प्रवेश गरेपछि वर्षाको गतिविधि बढेको थियो। अहिले न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बनेकाले वर्षाका गतिविधि पनि विस्तारै घट्ने मौसमविद्को भनाइ छ। आइतबार दिउँसो खुलेको काठमाडौं उपत्यकाको आकाश र देखिएको मौसमको दृश्य यस्तो छ।