काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट प्रहरी कार्यालय लगिएको घटनाबारे वरिष्ठ अधिवक्ता विपिन अधिकारीले कानुनी आधार स्पष्ट गर्न माग गरेका छन्।
प्रहरीले जबरालाई कुनै आपराधिक मुद्दामा पक्राउ गरिएको नभई सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा राखिएको बताएको छ। तर, अधिकारीले सुरक्षा खतरा नै कारण हो भने त्यो खतरा के थियो र त्यसका आधारमा उनलाई राति नै घरबाट बाहिर लैजानुपर्ने अवस्था किन आयो भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्। महाराजगञ्जस्थित निवासबाट बिहान करिब ३ बजे जबरालाई टेकुस्थित अपराध अनुसन्धान कार्यालय लगिएको थियो। प्रहरीका अनुसार उनलाई त्यहाँ सुरक्षित राखिएको हो र तत्काल मुद्दा चलाउने योजना नरहेको बताइएको छ। अधिकारीका अनुसार वास्तविक सुरक्षा जोखिम थियो भने घरमै थप सुरक्षा व्यवस्था गर्न सकिने विकल्पबारे पनि प्रश्न उठ्छ।
त्यसैले नियन्त्रणमा लिनुको कारण, निर्णय प्रक्रिया र कानुनी आधार सम्बन्धित निकायले सार्वजनिक रूपमा प्रस्ट पार्नुपर्ने उनको भनाइ छ। उनले यो घटनालाई एउटा व्यक्तिमाथिको कारबाहीका रूपमा मात्रै हेर्न नहुने बताएका छन्। न्यायपालिकासँग सम्बन्धित व्यक्तिमाथि राज्यका निकायले असामान्य ढंगले शक्ति प्रयोग गर्दा त्यसले न्यायिक स्वतन्त्रता र शक्ति पृथकीकरणसँग जोडिएका संस्थागत प्रश्नसमेत जन्माउन सक्ने अधिकारीको धारणा छ।अधिकारीले विशेषगरी गृहमन्त्रालय र प्रहरीबाट घटनाको पृष्ठभूमि तथा सुरक्षा चुनौतीबारे स्पष्ट जानकारी आउनुपर्ने बताएका छन्। यस घटनामा जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषय पनि अझै स्पष्ट हुन बाँकी रहेको कान्तिपुरको रिपोर्टले जनाएको छ।