काठमाडाैँ । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ठूलो क्षति पुगेको छ। बाढीले बस्तीका २५ घर बगाएको स्थानीय प्रशासनले जनाएको छ।
शनिबार बिहान करिब ८ बजेदेखि नदीको बहाव तीव्र बनेर बस्तीमा पसेपछि घरहरू बग्न थालेका थिए। फर्सेमा करिब ८० घर रहेकोमा २५ घर बाढीले बगाएको बताइएको छ। नदीको पानीको बहाव अझै बढिरहेकाले बस्तीका अन्य घरसमेत जोखिममा छन्। बाढीबाट ठूलो भौतिक क्षति भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
बस्ती आसपास पहिरोसमेत खसेका कारण सडक अवरुद्ध भएको छ। यसले गर्दा प्रहरी तथा उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भएको बताइएको छ। जलजला गाउँपालिकाले थप क्षति हुन नदिन जोखिम क्षेत्रको अवस्था बुझ्ने, आवश्यक उद्धार गर्ने र प्रभावित परिवारको व्यवस्थापनका लागि तयारी भइरहेको जनाएको छ।