काठमाडौं ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा आएको बाढीले महत्वपूर्ण पुल बगाएपछि सडक तथा यातायात सम्पर्क प्रभावित भएको छ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगर र भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल नदीले बगाएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताएका छन्। पुल बगेसँगै अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ सहित मुस्ताङतर्फको यातायात आवागमन प्रभावित भएको छ।बाढी र पहिरोका कारण अन्नपूर्ण–५ गिवाङमा एउटा तथा वडा नम्बर ३ को फगाममा अर्को घर पुरिएको छ। ती घरमा रहेका दुई जनाको अवस्था यकिन हुन नसकेपछि खोजी कार्य भइरहेको जनाइएको छ।यस्तै, बेनी–जोमसोम सडकखण्डको खामभित्तामा कालीगण्डकीले सडक कटान गरेको छ। अन्नपूर्ण–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुगेको बताइएको छ।