काठमाडौँ । लगातारको वर्षाका कारण हेटौँडालाई काठमाडौँसँग जोड्ने अधिकांश सडक मार्ग प्रभावित भएका छन्। विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा यातायात सञ्चालनमा समस्या आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हाल काठमाडौँतर्फ आवतजावतका लागि त्रिभुवन राजपथ मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। अन्य प्रमुख सडक मार्ग अवरुद्ध भएपछि अत्यावश्यक सवारीसाधन तथा सामग्री ढुवानीका लागि यही मार्ग प्रयोग भइरहेको छ। हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथको मकवानपुरतर्फको खण्ड भने सञ्चालनमा रहेको छ। तर ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे र टाँकुर्चे क्षेत्रमा पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा वर्षाका कारण सडक भासिएको छ। सडकको अवस्था जोखिमपूर्ण बनेपछि सवारी चालकलाई सिस्नेरी वा खानीखेत हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ सडकखण्डका विभिन्न स्थानमा पनि पहिरो खसेको छ। भीमफेदी गाउँपालिका–२ ज्यालटार, भीमफेदी–६ जुरीखेत तथा इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। ती स्थानमा जेसीबी परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ नेवारपानी, रजैयानजिकै माथिबाट पहिरो र ढुंगा खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक खुलाउन पहिरो हटाउने काम भइरहेको छ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुवैतर्फ अवरुद्ध भएको छ। चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म उक्त राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्। धरान–चतरा सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१६ हटिया बजारदेखि चिसापानीसम्म करिब १० वटा विद्युत् पोल ढलेका छन्। पोल ढलेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको र पोल हटाएर सडक सञ्चालनमा ल्याउन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण पहिरो तथा सडक भासिने क्रम जारी रहेकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त मार्गमा सावधानी अपनाउन आग्रह गरिएको छ।