काठमाडौं । मनाङमा लगातार भइरहेको वर्षाका कारण मर्स्याङ्दी नदीको बहाव बढ्दा नासों गाउँपालिका–१ स्थित तालगाउँ पुनः डुबानमा परेको छ।
केही समयअघि मात्रै पुनर्निर्माण सम्पन्न भएको गाउँ २०७८ सालको बाढीपछि फेरि जलमग्न बनेको स्थानीयले बताएका छन्। स्थानीय अगुवा राजन गुरुङका अनुसार नदीको बहाव बढेर गाउँ आसपासको क्षेत्रमा पानी जम्दा तालगाउँ डुबानमा परेको हो। बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर तथा दक्षिणतर्फका सडकसमेत अवरुद्ध भएका छन्। चारैतिरबाट सडक सम्पर्क विच्छेद भएपछि स्थानीय बासिन्दा गाउँमै रोकिएका छन्। उनीहरू सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा आश्रय लिएर बसिरहेका छन्।
बाढीका कारण गाउँमा विद्युत् र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ। टेलिफोन सेवा प्रभावित भएपछि मनाङ जिल्ला नै बाहिरी सम्पर्कबाट टाढिएको स्थानीयको भनाइ छ। तालगाउँभन्दा माथिल्लो क्षेत्रमा पनि बाढी तथा पहिरोको अवस्था रहेकाले त्यहाँको वास्तविक अवस्थाबारे थप जानकारी लिन कठिन भइरहेको बताइएको छ। स्थानीयसँग समेत सहज सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण आउन सकेको छैन। यसैबीच, मर्स्याङ्दी नदीको बहाव अझै बढिरहेको र नदीको प्राकृतिक बहावमा अवरोध देखिएको बताइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।