काठमाडौं । मकवानपुरस्थित लाल बकैया खोलामा पानीको सतह निरन्तर बढिरहेको छ।
जुरेलिबजार क्षेत्रमा खोलाको जलसतह बाढीको खतरा तह नजिक पुगेपछि आसपासका डुबान प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ः२० बजेसम्म लाल बकैया खोलामा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ। अवस्था जोखिमपूर्ण रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो। महाशाखाले विशेषगरी डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज साँझसम्म सतर्क रहन आग्रह गरेको छ। खोलाको जलसतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन भनिएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा चितवनको माडी कल्याणपुरमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। उक्त क्षेत्रमा २२२.४ मिलिमिटर वर्षा भएको मौसमसम्बन्धी विवरणमा उल्लेख छ। मधेश प्रदेशसँगै गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका अधिकांश स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको जनाइएको छ। भारी वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।