काठमाडौं । विद्यार्थी राजनीतिबाट सार्वजनिक तथा राजनीतिक क्षेत्रमा सक्रिय बन्दना पराजुली ‘वर्षा’ ले नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यलाई आफ्नो राजनीतिक प्रेरणाको प्रमुख स्रोतका रूपमा लिएकी छन्।
मृदुभाषी, शान्त र मेहनती स्वभावकी पराजुली राजनीति सँगसँगै साहित्य तथा सिर्जनात्मक क्षेत्रमा पनि रुचि राख्छिन्। उनले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन्। हाल उनी पृथ्वीनारायण क्याम्पसमा कानून विषयको दोस्रो वर्षमा अध्ययनरत छिन्। पराजुली विद्यार्थी राजनीतिमा पनि सक्रिय रहँदै आएकी छन्। स्ववियु निर्वाचन–२०७९ मा नेपाल विद्यार्थी संघको घोषणापत्र तयारी समितिमा सदस्यको जिम्मेवारी सम्हालेकी उनी सोही निर्वाचनमा शंकरदेव क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएकी थिइन्। उनी नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलसँग आबद्ध रहेर संगठनात्मक तथा सामाजिक गतिविधिमा समेत सहभागी हुँदै आएकी छन्।
उनका लागि राजनीति केवल पद हासिल गर्ने माध्यम होइन। विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने, अधिकारसँगै जिम्मेवारीलाई आत्मसात् गर्ने र सामाजिक परिवर्तनमा योगदान पुर्याउने माध्यमका रूपमा उनले राजनीतिलाई लिएकी छन्। यही राजनीतिक दृष्टिकोणका कारण शैलजा आचार्य उनको प्रेरणाको पात्र बनेकी हुन्। पञ्चायतविरोधी लोकतान्त्रिक आन्दोलनमा आचार्यले देखाएको साहस, लोकतन्त्रप्रतिको प्रतिबद्धता र आफ्नो राजनीतिक अडानबाट आफू प्रभावित भएको पराजुली बताउँछिन्। आचार्य नेपालकी पहिलो महिला उपप्रधानमन्त्रीसमेत बनेकी थिइन्।
पराजुली नेपाली महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूको संघर्षलाई पनि नयाँ पुस्ताका लागि महत्वपूर्ण प्रेरणाका रूपमा हेर्छिन्। मङ्गलादेवी सिंह, सहाना प्रधान र द्वारिकादेवी ठकुरानीलगायत महिलाले अधिकार तथा राजनीतिक सहभागिताका लागि गरेको संघर्षले अहिले महिलालाई सार्वजनिक जीवनमा अघि बढ्ने आधार तयार गरेको उनको बुझाइ छ। शैलजा आचार्यको योगदानलाई उनले लोकतान्त्रिक संघर्षमा मात्र सीमित नराखी विकास र नीतिनिर्माणसँग समेत जोडेर हेरेकी छन्। जलस्रोत मन्त्रीका रूपमा आचार्यले निजी क्षेत्रलाई जलविद्युत् उत्पादनमा आकर्षित गर्न अघि सारेका नीतिगत प्रयास पनि आफूलाई प्रेरणादायी लागेको पराजुलीको भनाइ छ।
पराजुलीका अनुसार राजनीतिक नेतृत्व भनेको पद र प्रतिष्ठाभन्दा बढी जिम्मेवारी हो। अघिल्लो पुस्ताले संघर्षमार्फत प्राप्त गरेका अधिकारलाई नयाँ पुस्ताले अवसरमा रूपान्तरण गर्दै आगामी पुस्ताका लागि समान अवसर र समतामूलक समाज निर्माणमा योगदान दिनुपर्ने उनको धारणा छ। इतिहासबाट सिक्दै वर्तमानका चुनौती पहिचान गर्ने, नयाँ विचार निर्माण गर्ने र जिम्मेवार नेतृत्व विकास गर्ने उद्देश्य आफ्नो राजनीतिक यात्राको आधार रहेको पराजुली बताउँछिन्।