काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाह गत मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका थिए। उनले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्दै नेपालको पछिल्लो बाढी विपद्लाई जलवायु परिवर्तनबाट उत्पन्न बढ्दो जोखिमसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
सम्बोधनका क्रममा शाहले भोटेकोशी–त्रिशूली बाढीलाई नेपालमा देखिएको जलवायु संकटको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको उनको भनाइ थियो।
उनले जलवायु परिवर्तनले सीमाना नचिन्ने उल्लेख गर्दै हिमनदी पग्लिने, बाढी, पहिरो तथा अन्य जोखिम नेपालमा मात्र सीमित नरहने बताएका थिए। साथै, हिमालय क्षेत्रका लागि नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु उत्थानशीलता संयन्त्र निर्माण, तथ्यांक आदानप्रदान तथा संयुक्त पूर्वसूचना प्रणाली विकासको प्रस्तावसमेत अघि सारेका थिए।
प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राख्दै हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने बताएका थिए।
महासभामा सहभागी हुने क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेटवार्ता पनि गरेका थिए।