सुर्खेत । लगातारको भारी वर्षापछि पहिरो र माटो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडकखण्डमा यातायात प्रभावित भएको छ। कर्णाली राजमार्ग, राप्ती राजमार्गसहितका सडकमा पहिरो खसेपछि केही स्थानमा आवागमन पूर्ण रूपमा रोकिएको छ भने केही सडक एकतर्फी सञ्चालनमा आएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र तिलागुफा नगरपालिका–१ भिग्मामा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
जुम्लाको तातोपानी गाउँपालिकाअन्तर्गत नाग्मा–जुम्ला सडकखण्डमा पनि यातायात रोकिएको छ। मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ को पिना क्षेत्रमा गमगढी–नाग्मा सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरमा भित्री सडक तथा हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा सडक अवरुद्ध भएको छ।
सल्यानको कपुरकोट गाउँपालिका–३ र ४ स्थित अरिङ्गालेमा पहिरोका कारण रोकिएको राप्ती राजमार्ग भने अहिले एकतर्फी सञ्चालनमा आएको छ।
भारी वर्षा जारी रहेकाले विभिन्न सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन र यातायात सञ्चालन सहज बनाउन सम्बन्धित निकायले प्रयास गरिरहेका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालका अनुसार वर्षाका कारण कर्णालीका धेरै सडकखण्डमा यातायात प्रभावित भएको छ।