बागलुङ । लगातारको वर्षापछि कालीगण्डकी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। नदीको जलसतह बढ्दै गएपछि बागलुङ, पर्वत र म्याग्दीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
मुस्ताङतर्फबाट लेदोसहितको बाढी कालीगण्डकीमा मिसिएपछि नदीको बहाव थप बढेको प्रहरीले जनाएको छ। जोखिमयुक्त क्षेत्र तथा नदी किनारमा नजान र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न स्थानीयलाई आग्रह गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै तीनवटै जिल्लाका प्रहरीले तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराइरहेका छन्।
म्याग्दीको बेनी तथा बागलुङका नियरघाट, मालढुंगालगायत कालीगण्डकी आसपासका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
शनिबार असोज १० गते बिहानदेखि नदीको जलसतह अघिल्लो दिनको तुलनामा थप बढेको जनाइएको छ। पर्वतमा मोदीखोला र कालीगण्डकी मिसिने मोदीवेणी क्षेत्रमा नदीको बहाव चेतावनी तह पार गरेको छ।
कालीगण्डकीका अन्य क्षेत्रमा जलसतह अहिले चेतावनी तहभन्दा तल रहे पनि निरन्तर बढिरहेको प्रशासनले जनाएको छ। वर्षा जारी रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।