धनगढी । लगातार भइरहेको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका पहाडी सात जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
कैलाली र कञ्चनपुरबाहेक प्रदेशका अन्य जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएका छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार वर्षाका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो।
निर्णयअनुसार पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन।
ट्राफिक प्रहरीले प्रशासनको निर्णयबारे जानकारी नपाएका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काएको जनाएको छ।
तराईका कैलाली र कञ्चनपुरमा भने तत्काल सवारी आवागमनमा रोक लगाइएको छैन।
सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।